एबी

डिभिलियर्सको संन्यास


केप टाउन । दक्षिण अफ्रिकी ब्याटर एबी डीभिलियर्सले शुक्रबार सबैखाले क्रिकेट संरचनाबाट संन्यासको घोषणा गरेका छन् ।

३७ वर्षिय डीभिलियर्सले शुक्रबार ट्विटरमार्फत एक वक्तव्य सार्वजनिक गर्दै सबैखाले क्रिकेट संरचनाबाट संन्यास लिने बताएका हुन् ।

‘मेरो क्रिकेट करियर निकै असाधारण रह्यो तर मैले सबैखाले क्रिकेट संरचनाबाट संन्यास लिने निर्णय गरेको छु,’ उनले भने, ‘म मेरो सबै सहकर्मीहरु, प्रतिद्धन्द्धी टोली, प्रशिक्षकहरु, फिजियो र टोली व्यवस्थापनका सबै कर्मचारीलाई धन्यवाद दिन चाहन्छु । मलाई राष्ट्रिय टोलीबाट खेल्दा र क्लब क्रिकेट खेल्दा समर्थनबाट पाएको मायाप्रति निकै कृतज्ञ छु ।’

डीभिलियर्सले दक्षिण अफ्रिकाबाट एक सय १४ टेस्ट, दुई सय २८ एकदिवसीय र ७८ ट्वान्टी २० खेल खेलका छन् । उनले सन् २००४ मा इङ्ल्यान्डविरुद्धको टेस्ट खेलमार्फत दक्षिण अफ्रिकाबाट डेब्यु गरेका थिए ।

डीभिलियर्सले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक, शतक र एक सय ५० रन बनाउने कीर्तिमान राखेका छन् ।

डीभिलियर्सले सन् २०११ देखि इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेङलोरबाट ब्यवसायिक क्रिकेट खेलिरहेका थिए ।  

‘म सधैका लागि ‘आरसिबीयन’ नै रहने छु । आरसिबीका प्रत्येक सदस्य मेरो परिवारका सदस्य बनेका छन्,’ डीभिलियर्सले भने, ‘मानिसहरु आउँछन् जान्छन् तर आरसिबीमा रहँदा हामीबीचको माया सधै रहिरहने छ ।’