नेपाल क्रिकेट संघ

क्यानको साधारणसभा पुसमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आगामी पुसको मध्यमा धनगढीमा हुने भएको छ ।

रिक्त रहेको सचिव र उपाध्यक्ष पदको निर्वाचन समेत हुने वार्षिक साधारणसभा पुस १४ र १५ गते हुनेछ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएअनुसार कार्यसमितिको भर्चुअल बैठकले साधारणसभा आयोजनाको निर्णय गरेको हो ।

नेपाली काग्रेसको स्थानीय राजनीतिमा मस्त रहेर बैतडीमै बसोबास गर्दै आएका अध्यक्ष चतुरबहादुर चन्दले एकलौटी ढंगले संघ चलाएको भन्दै असन्तुष्ट रहेका निर्वाचित सचिव अशोकनाथ प्याकुर्याल तथा उपाध्यक्ष राजुबाबु श्रेष्ठले अघिल्लो महिना राजीनामा गरेका थिए । प्याकुर्याल र श्रेष्ठले राजीनामा गरेपछि अध्यक्ष चन्दले प्रशान्तविक्रम मल्ललाई कार्यवाहक सचिवको जिम्मेवारी दिएका छन् ।

साधारणसभाका लागि चार वर्षे कार्यकाल समाप्त भएका र समाप्त हुने अवस्थामा पुगेका जिल्ला संघलाई माघ सात गतेभित्र साधारणसभा गर्न निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रवन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसिसीका एक प्रतिनिधी रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरिएको जनाइएको छ ।

त्यस्तै पुस १५ गतेभित्र प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

विभिन्न बहानामा लामो समयदेखि क्रिकेट विकासका कुनै पनि काम नगरेको भन्दै क्यानको वर्तमान कार्यसमिति आलोचित बनिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा क्यान निदाएर बसेको भन्दै वेकअप क्यान अभियान चलेको छ ।