भारत-पाकिस्तान क्रिकेट

भारत–पाकिस्तान क्रिकेट सम्बन्धमा बोर्ड निरिह हुने गांगुलीको स्वीकारोक्ति

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगूलीले पाकिस्तान र भारतबीचको क्रिकेट शृंखला गराउँनु आफू र पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष रमिज राजाको हातमा नरहेको बताएका छन् ।

हाल भारत र पाकिस्तान एसिया कप र आइसिसीका आधिकारीक प्रयितोगितामा मात्र एक–अर्काविरुद्ध मैदान उत्रने गरेका छन् । यी दुई टोलीले पछिल्लो पटक सन् २०१२÷१३ मा दुई देशीय शृंखला खेलेका थिए । तीन एकदिवसीय र तीन ट्वान्टी २० खेलको उक्त शृंखला भारतमा भएको थियो ।

पछिल्लो समय दुई देशबीच रहेको चरम राजनीतिक तिक्तताले खेलकुद क्षेत्रलाई समेत प्रभावित बनाएको छ । जसका कारण केही वर्ष यता यी दुई देशबीच खेलकुद सहकार्य ठप्प जस्तै छ ।

‘दुई देशबीच क्रिकेट शृंखला आयोजना गराउँनु दुवै क्रिकेट बोर्डको हातमा छैन । अहिले दुई टोलीबीच आइसिसीको प्रतियोगितामा मात्र प्रतिस्पर्धा भइरहेको छ,’ गांगूलीले भने, ‘केही वर्ष यता दुई देशबीच क्रिकेट शृंखला आयोजना हुन सकिरहेको छैन । यसबारे दुवै देशका सरकारले निर्णय गर्न आवश्यक छ । दुई देशबीच शृंखला आयोजना गर्नु मेरो र पिसिबीका अध्यक्ष रमिज राजाको हातमा छ्रैन ।’

यसअघि पिसिबीका अध्यक्ष राजाले गांगूलीसँगको कुराकानीमा आफूले ‘राजनीतिलाई खेलकुदबाट टाढा राख्न’ आग्रह गरेको बताएका थिए ।