ट्वान्टी २० विश्वकप आजबाट 

मस्कट, (खेलाडी)- आइसीसीको ट्वान्टी २० विश्वकप आजबाट सुरु हुदैछ ।

ओमान र सयुक्त अरब इमिरेट्स (युएइ) सयुक्त आयोजक रहेको प्रतियोगितामा आज प्रारम्भिक चरणका दुई खेलहरु हुदैछन् । 

उद्घाटन खेलमा आयोजक ओमानले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरत मैदानमा हुने उद्घाटन खेल नेपाली समयअनुसार दिउसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

अल अमेरत मैदानमै हुने दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबिच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । 

प्रतियोगिताको प्रारम्भिक चरणमा आठ टोली सहभागी छन् । समूह 'ए' मा आयरल्यान्ड, नामिबिया नेदरल्यान्डस र श्रीलंका छ भने समूह 'बी' मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड रहेका छन् ।

दुवै समूहको शीर्ष दुई टोली सुपर १२ मा प्रवेश गर्नेछ । विश्व वरियताको शीर्ष आठमा रहेका टोली यसअघि नै सुपर १२ का लागि छनोट भैसकेका छन् ।

सुपर १२ मा सहभागी टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जहा प्रत्येक समूहमा ६ टोली हुनेछ । ग्रुप वानमा अस्ट्रलेलिया, इङल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज छन् भने ग्रुप बी मा अफगानिस्तान, भारत, पाकिस्तान र न्युजिल्यान्ड रहेका छन् । 

वरियताको शीर्ष  आठमा बस्दै सोझै विश्वकपका लागि छनोट भएका टोलीहरुको अभ्यास खेल अक्टोबर १८ देखी २० सम्म हुनेछ ।

प्रतियोगिता नोभेम्बर १४ सम्म संचालन हुनेछ ।

ट्वान्टी२० विश्वकप गत वर्ष भारतमा हुने तय भए पनि कोभिड १९ महामारीका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो ।