दिल्लीलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

सारजहाँ, (खेलाडी)- दिल्ली क्यापिटल्सलाई तीन विकेटको नतिजामा हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सविरुद्ध शुक्रबार हुने फाइनल भिडन्त पक्का गरेको छ । 

सारजहाँमा भएको प्रतियोगिताको दोस्रो क्वालिफायरमा ओपनिङ जोडी वेंकटेस ऐर र शुभमन गिलले सनसनीपूर्ण प्रदर्शन गरेपछि कोलकाताले एक सय ३६ रनको लक्ष्य निर्धारित २० ओभरको एक बल बाँकी रहँदा सात विकेट गुमाउँदै पूरा गर्‍यो । 

ओपनिङ जोडी ऐर र गिलले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै कोलकाताको विजय आधार बनाएका थिए । तर ऐर र गिलले बनाएको कोलकाताको बलियो आधार पछिल्ला चार ओभरमा लगातार विकेट लिँदै भत्काउने प्रयास गरेको दिल्लीका लागि अन्तिम ओभरमा रविचन्द्रन आश्विनले दुई विकेट लिँदै टोलीलाई जितको नजिक पुर्‍याएका थिए ।

पछिल्ला ओभरमा दिल्लीका बलर हावी हुँदा कोलकाताका चार ब्याटर खाता खोल्न नपाउँदै पवेलियन फर्किए । दिनेश कार्तिक, कप्तान इयोन मोर्गान, सकिब अल हसन र सुनील नारिन सुन्यमै आउट हुँदा जितको मुखमा पुगेर पनि कोलकाता हारको नजिक फर्किएको थियो । 

तर अन्तिम ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै राहुल त्रिपाठीले कोलकातालाई जित दिलाए । ११ बल खेलेका त्रिपाठीले एक छक्कासहित १२ रन बनाएका थिए । 

४१ बलमा ५५ रन बनाएका ऐरले चार चौका र तीन छक्का प्रहार गरे । गिलले भने ४६ बलमा एक चौका र एक छक्कासहित ४६ रनको योगदान गरेका थिए । 

गिलले दोस्रो विकेटका लागि नितिश रानासँग २७ रन थपे । रानाले १२ बलमा एक छक्कासहित १३ रन बनाएका थिए ।  

दिल्लीका एनरिक नर्टजी, रविचन्द्रन आश्विन र कागिसो रावाडाले दुई/दुई विकेट लिँदा अभेश खानले एक विकेटमा नाम लेखाए । 

यसअघि टस हारेर दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । टोलीका लागि ओपनर शिखर धवनले ३९ बल खेल्दै एक चौका र दुई छक्कासहित ३६ रन बनाए । पहिलो विकेटका लागि उनले ओपनिङ पार्टनर पृथ्वी शाँसँग ३२ रनको साझेदारी गरेका थिए । 

पृथ्वीले १२ बलमा दुई चौका र एक छक्कासहित १८ रन बनाएका थिए । यसैगरी श्रेयस ऐरले २७ बलमा एक चौका र एक छक्कासहित अविजित ३० रनको योगदान गर्दा मार्कुस स्टोइनिसले २३ बलमा एक चौकासहित १८ रन बनाए । दिल्लीका लागि सिमरन हेटमायरले १० बलमा दुई छक्कासहित १७ रनको योगदान गरे । 

कोलकाताका वरुण चक्रवर्तीले दुई विकेट लिए भने ल्युकी फर्गुसन र शिवम मावीले एक/एक विकेटमा नाम लेखाए ।