अस्ट्रेलिया भ्रमणका लागि सबै इङलिस खेलाडी व्यग्र छन्ः ओक्स


लन्डन, (खेलाडी)– इङ्ल्यान्डको पुरुष क्रिकेट टोलीका सदस्यहरुमा एसेज शृंखलाका लागि डिसेम्बरमा अस्ट्रेलिया भ्रमणको विषयले कुनै तनाब नरहेको र सबै भ्रमणका लागि उत्सुक रहेको अलराउन्डर क्रिस ओक्सले बताएका छन् । 

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)ले कोभिड १९ महामारीका कारण सिर्जित असहज परिस्थितीका बावजुद डिसेम्बरको भ्रमण यथावत रहेको शुक्रबार प्रष्ट पारेको थियो । 

इङ्ल्यान्डका खेलाडीहरुले यसअघि भ्रमण दौरान परिवारका सदस्यलाई लान पाउने की नपाउने भन्ने विषयमा प्रष्टता चाहेका थिए । साथै खेलाडीहरुले अस्ट्रेलियाको क्वारेन्टिन नियमको सहज व्यवस्थापनका लागि पनि आग्रह गरेका थिए । 

‘एसेज शृंखलाको टोलीको हिस्सा बन्न नचाहने कोही खेलाडी छैन । पक्कै पनि महामारी र त्यसका कारण लागु गरिएका स्वास्थ्य मापदण्ड सबैको चासोको विषय हो । तर सबै खेलाडी अस्ट्रेलिया भ्रमणका लागि व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन्,’ ओक्सले भने, ‘हामी अस्ट्रेलियामा क्रिकेटवाहेकको जिन्दगी सहज होस भन्ने मात्र चाहन्छौं ।’

दुई चिर प्रतिद्वन्द्वी इङ्ल्यान्ड र अस्ट्रेलियाबीच पाँच टेस्टको एसेज शृंखला डिसेम्बर आठमा सुरु भएर जनवरी १८ सम्म चल्ने तालिका छ । 

कोभिड १९ नियन्त्रणको मामिलामा विश्वमै सबभन्दा कठोर स्वास्थ्य मापदण्ड अपनाएको अस्ट्रेलियाभित्र पनि प्रत्येक राज्यका फरक नियम छन् । पाँच टेस्ट पाँच फरक राज्यमा हुने तालिका हुँदा फरक मापदण्डका कारण थप असहज हुन सक्ने भन्दै खेलाडीहरुले चिन्ता व्यक्त गरेका थिए । 

शृंखलाका लागि घोषित १७ सदस्यीय इङ्ल्यान्ड टोलीका सदस्य ओक्स हाल ट्वान्टी २० विश्वकपको तयारीमा रहेको टोलीसँगै संयुक्त अरब इमिरेट्स (युएई)मा छन् । इङ्ल्यान्डले वेस्ट इन्डिजसँग अक्टोबर २३ मा खेल्दै ट्वान्टी २० विश्वकपमा यात्रा थालनी गर्नेछ ।