आरसिबीमा कप्तानको भूमिका सकिएपछि कोहलीले भने ः टोलीका लागि सत प्रतिसतभन्दा बढि दिएँ

दुबई, (खेलाडी)– रोयल च्यालेन्जर्स बेङलोर (आरसिबी)मा विराट कोहलीको कप्तानी युग सोमबार इलिमिनेटरमा कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै बाहिरिएसँगै समाप्त भएको छ । 

कप्तानका रुपमा आरसिबीलाई एक सय ४० खेलमा नेतृत्व गरेका कोहलीले त्यसक्रममा आफूले सतप्रतिसतभन्दा बढि टोलीका लागि दिएको बताए । एउटा नेताका रुपमा आफूले खेलाडीलाई खुलेर खेल्ने वातावरण दिएको र टोलीलाई सफल बनाउनका लागि कुनै कसर बाँकी नराखेको कोहलीको भनाई थियो । 

कोहलीको कप्तानीमा आरसिबीले ६४ जित, ६९ हार र तीन टाईको नतिजा निकालेको थियो । यसक्रममा चार खेल भने नतिजारहित टुंगिएका थिए । 

‘मैले आफ्नो तर्फबाट युवा खेलाडीलाई यहाँ आएर आफूभित्रको प्रतिभा प्रस्फुटन गर्ने मौका दिन भरमग्दुर प्रयास गरें । मैले आरसिबीमा पनि भारतीय टोलीमा जस्तै सबथोक गरें’ कोहलीले भने, ‘मैले आफ्नो तर्फबाट उत्कृष्ट दिएँ । मेरो कामको मुल्यांकन कस्तो हुन्छ वा भइरहेछ भन्ने मलाई थाहा छैन । तर मैले यो फ्रेन्चाइजलाई एक सय २० प्रतिसत दिएँ ।’

कप्तानी त्यागे पनि कोहलीले एउटा खेलाडीका रुपमा आगामी दिनमा योभन्दा बढि मिहिनेत गर्ने प्रतिबद्धता व्यक्त गरे । कोलकातासँग चार विकेटले पराजित भएपछि कोहलीले थपे, ‘आरसिबी कप्तानका रुपमा पछिल्लो ११ वर्ष मेरा लागि स्मरणीय रहयो । खेलाडीका रुपमा अबका दिन मेरो मिहिनेत र लगाब कायम रहनेछ । मेरो विचारमा अझ माथिल्लो स्तर हासिल गर्नका लागि आगामी तीन वर्ष टोलीलाई महत्वपूर्ण हुनेछ । आगामी दिनमा टोलीको पुर्नसंरचनामा ध्यान दिनुपर्नेछ ।’

आइपिएलमा आरसिबीबाटै निरन्तर खेलिरहने प्रतिबद्धता व्यक्त गर्दै कोलहीले भने, ‘म आइपिएलमा आरसिबीबाहेक अन्य टोलीबाट खेलेको कल्पना पनि गर्न सक्दिन । मेरा लागि अरु कुरा भन्दा पनि सम्बन्धले बढि अर्थ राख्छ । त्यसैले आइपिएलमा मेरो अन्तिम दिनसम्म पनि आरसिबीबाटै खेल्नेछु ।’

यसपाली चौथो स्थानमा सीमित भएको आरसिबीले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । आरसिबीका लागि सोमबार सकिएको सिजनको समूह चरणका १४ खेलमा टोलीले नौं जित हासिल गरेको थियो । शीर्ष दुईमा परेर पहिलो क्वालिफायरलाई छानिन आरसिबीका लागि रनरेटमात्र बाधक बनेको थियो । रनरेटमा आरसिबीलाई पछि पार्दै चेन्नई सुपर किंग्स पहिलो क्वालिफायरलाई छानिएको थियो । 

आरसिबीमा कोहलीको उत्कृष्ट नतिजा २०१६ को थियो । त्यतिबेला टोली फाइनलसम्म पुगेको थियो । आरसिबी २०११ मा पनि फाइनल पुगेको थियो । तर ड्यानिअल भेट्टोरी त्यतिबेला नियमित कप्तान थिए भने कोहलीले समूह चरणका तीन खेलमा टोलीको नेतृत्व गरेका थिए । २०१५ मा तेस्रो स्थान हासिल गरेको टोली गत सिजनमा पनि इलिमिनेटरसम्म पुगेको थियो । 

२०१२ देखि २०१४ तथा २०१७ देखि २०१९ सम्म टोली प्लेअफमा पुग्न सफल भएन् । त्यसमध्ये पछिल्लो दुई पटक भने कोहलीको आरसिबी पुछारमा सीमित भएको थियो ।