फ्लावर अफगानिस्तान क्रिकेटका सल्लाहकार नियुक्त

काबुल, (खेलाडी)-  अफगानिस्तानले ट्वान्टी२० विश्वकप क्रिकेटका लागि इङल्यान्डका पूर्वप्रशिक्षक एन्डे फ्लावरलाई सल्लाहकारको रुपमा भित्राएको छ । 

जिम्बाब्वेका पूर्व कप्तान फ्लावरले सन् २००९ देखी २०१४ सम्म इङल्यान्डलाई प्रशिक्षण दिएका थिए । उनको प्रशिक्षणमा इङल्यान्डले सन् २०१० को ट्वान्टी२० विश्वकप जितेको थियो ।
'एन्डेलाई भित्राउन पाउँदा हामी हर्षित छौ । उनको अनुभवले टोलीलाई धेरै फाइदा पुग्नेछ,' अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) का अध्यक्ष अजिउल्लाह फाजीले भने ।

ओमान र युएइले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता अक्टोबर १७ बाट सुरु हुदैछ । 

फ्लावरको प्रशिक्षणमा इङल्यान्डले तीन पटक एसेस शृंखला जित्नुका साथै एक पटक ट्वन्टी२० विश्वकप जितेको थियो । उनकै प्रशिक्षणमा इङल्यान्ड विश्व टेस्ट वरियताको शीर्ष स्थानमा पुगेको थियो ।

फ्लावरले सन् १९९२ देखी २००३ सम्म जिम्बाब्वेबाट ६३ टेस्ट, दुई सय १३ एक दिवसीय खेल खेलेका थिए ।

विद्रोही समूह तालिवानले सत्ता कब्जामा लिएसँगै महिला क्रिकेटमाथि प्रतिबन्ध लगाउने संकेत गरेपछि अफगानिस्ताको ट्वान्टी२० विश्वकप सहभागिता अनिश्चित बनेको थियो ।