हैदराबादमाथि मुम्बईको सजिलो जित

दुबई, (खेलाडी)- सनराइजर्स हैदराबादलाई एकसय ८२ रनमा रोक्दै साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को समूह चरणको अन्तिम दिन ५४ रनको फराकिलो जित हासिल गरेको छ ।

इसान किसन र सूर्यकुमार यादवको उच्च प्रदर्शन प्रेरणामा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३० रनको विशाल योगफल बनाएको मुम्बईले जवाफमा हैदराबादलाई सस्तैमा रोकेर सहज जित हासिल गरेको थियो ।

विकेटकिपर ब्याटर किसनले आक्रामक ब्याटिङ गर्दै ८४ रन बनाएको मुम्बईको इनिङमा यादवले अविजित ८२ रन थपेपछि साविक विजेता टोली ठूलो योगफल बनाउन सफल भयो । 

टस जितेर पहिला ब्याटिङ रोज्ने कप्तान रोहित शर्माको निर्णय सही सावित गर्ने क्रममा किसनले ३२ बलमा ११ चौका र चार छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कप्तान रोहित (१८) सँग ८० रनको साझेदारी गरेका थिए । 

यसैगरी यादवले ३८ बलमा १३ चौका र तीन छक्कासहित अविजित रहँदै ८२ रन बनाएका थिए । मुम्बईका लागि किरन पोलार्डले १३ तथा हार्दिक पाण्ड्याले १० रनको थप योगदान गरे । 

हैदराबादका जेसन होल्डरले चार विकेट लिए भने रासिद खान र अभिशेक शर्माले दुई/दुई तथा उम्रन मलिकले एक विकेटमा नाम लेखाए । 

जवाफमा हैदराबादका लागि मनिष पाण्डेले ६३ रनको इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । मनिषले ३८ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । 

हैदराबादका लागि ओपनरद्धय जेसन रोयले ३४ तथा अभिशेक शर्माले ३३ तथा प्रियम गर्गले २९ रनको योगदान गरेका थिए । 

मुम्बईका जसप्रित बुमरा, नाथान कटलर नाइल र जेम्स नीशामले दुई/दुई तथा ट्रेन्ट बोल्ट र पियुस चावलाले एक/एक विकेट लिए ।