दुवै कप्तान भन्छन : फाइनलको दबाब लिन्नौं

काठमाडौं, (खेलाडी)- चितवन टाइगर्सका कप्तान सोमपाल कामीले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा शनिबार हुने फाइनल खेललाई अन्य बाँकी खेलहरु जस्तै सामान्य रुपमा लिएर खेल्ने बताएका छन् । 

फाइनलअघिको पत्रकार सम्मेलनमा शुक्रबार कामीले आफू र आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको र यसअघिको प्रदर्शनलाई निरन्तरता दिने कोशिष गर्ने बताए । 

‘पोखरालाई प्रतियोगितामा यसअघि दुई पल्ट हराएको भए पनि त्यो हिजो हो । फाइनल भन्दा पनि भोलीको खेललाई मैले अन्य खेल जस्तै गरि लिएको छुु । आफूलाई प्रमाणित गर्ने अवसर हो जस्तो लाग्छ,’ सोमपाल भन्छन्, ‘म मेरो टोली र आफै प्रती पूर्ण विश्वस्त छु । सबैभन्दा ठूलो कुरा सिक्ने हो । धेरै प्रेसर लिदैनौं । यसअघिको प्रदर्शनलाई निरन्तरता दिने कोशिष गर्नेछौं ।’

त्यस्तै कामीले प्रतियोगितामा साहिद आफ्रिदी जस्ता खेलाडीको आगमनले घरेलु खेलाडीले घेरै कुरा सिक्ने अवसर पाएको बताए ।

‘इपिएल पछिल्लो सिजन जस्तो छैन पूर्ण फरक छ । साहिद अफ्रीदी जस्ता खेलाडी आउनु र अरु विदेशी खेलाडीसँग ड्रेसिङ रूम सेयर गर्न पाउनुले निक्कै फरक पार्छ,’ सोमपालले थपे, ‘यो सकारात्मक कुरा हो । यसबाट सिक्ने मौका धेरै पाउछौं । हाम्रा खेलाडीहरुमा विदेशी खेलाडीहरुसँग सिक्ने कुरामा कुनै डर नरहेको जस्तो मैले महसुस गरेको छु ।’

यता पोखरा राइनोजका कप्तान विनोद भण्डारीले फाइनलमा धेरै दबाब नलिने बताएका छन् । 

‘फाइनल एउटा स्टेप हो । एउटा नराम्रो हाम्रो टोली राम्रो भन्न मिल्दैन । फाइनल सम्म पुग्यौं भनेपछी दुवै टोली राम्रा छन । फाइनलमा पक्कै पनि प्रेसर हुन्छ,’ विनोदले भने, ‘तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने महत्वपूर्ण कुरा हो । इपिएलको फाइनल पहिलो पटक खेल्दै हो भन्ने सोचेर खेल्यौं भने झन प्रेसर थपिन्छ जस्तो लाग्छ । त्यसैले सहज खेल्ने कोशिष गर्नेछौं ।’

विनोद पनि लिगमा चर्चित विदेशी खेलाडी अनुबन्धित हुँदा घरेलुु खेलाडीले उनीहरुबाट निकै कुराहरु सिक्न पाएकोमा सोमपालसँग सहमत थिए । 

‘लिगमा विदेशी खेलाडीको उपस्थिती हुँदा घरेलु खेलाडीले धेरै सिक्न पाउँछन्,’ विनोद थप्छन्, ‘इपिएलको पहिलो सिजन देखि अहिलेसम्म आइपुग्दा धेरै परिवर्तन आएको छ । खेलाडीहरुको स्तर पनि बढिरहेको छ ।’

विनोदले चितवनविरुद्ध यसअघि दुवै खेलमा पहिले ब्याटिङ गर्दा राम्रो लक्ष्य दिन नसकेको भए पनि भोली त्यसलाई पूर्ण रुपमा सुधार गर्ने बताए ।