भैरहवालाई हराउँदै पोखरा फाइनलमा

काठमाडौं, (खेलाडी)- ओपनर सहानको अर्धशतकप्रेरित पोखरा राइनोज भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ । 

यसअघि बुधबार पहिलो प्लेअफमा चितवन टाइगर्स पोखरालाई नौं विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । चितवनसँग पराजित भए पनि पोखराले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेता भैरहवालाई प्रतिस्पर्धीको रुपमा पाएको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो प्लेअफमा भैरहवाले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य पोखराले १८.२ ओभरभा तीन विकेट क्षतीमा पूरा गरेको थियो ।

पोखराका सहानले ४४ बलमा तीन चौका मद्दतमा अविजित ५३ जोडे । त्यस्तै विपिन रावलले ३४ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ४० रन जोडे ।

भैरहवाका भुवन कार्कीले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको लागि आएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १९ रनको योगफल तयार पारेको थियो ।

भैरहवाका कप्तान शरद भेषावकरले ३२, आरिफ शेखले २७ र रोहित पौडेलले १८ रन प्रहार गरे ।

पोखराका किशोर महतो र सहानले समान दुई तथा नन्दन र एसेला गुणारत्नेले समान एक विकेट लिए ।

फाइनल खेल शनिबार हुनेछ ।