रबाफिलो जितका साथ चितवन फाइनलमा
काठमाडौं, (खेलाडी)- पोखरा राइनोजमाथि ९ विकेटको रबाफिलो जितका साथ चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग ( इपिएल) को फाइनल प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएकोे पहिलो क्वालिफायरमा पोखराले प्रस्तुत गरेको ६७ रनको लक्ष्य चितवनले ७.५ ओभरमा एक विकेट क्षतीमा पूरा गरेको हो ।
चितवनका लागि ओपनर मोहम्मद सहजादले ४८ रन जोडे । सहजादले बलमा ७ चौका र १ छक्का प्रहार गरे
यसअघि टस हारेर ब्याटिङका लागि आएको पोखरा १५ ओभरमा मात्र ६६ रनमा सीमित भएको थियो ।
पोखराका ओपनर रिचार्ड लेबीले १९ र सुनिल धमलाले १८ रन बनाए । पाँचौ ओभरको समाप्तीमा ३३ -१ मा रहेको पोखराले थप ३३ रन जोड्दा बाँकी नोै विकेट गुमाएको थियो ।
पोखरालाई सस्तोमा सीमित पार्ने क्रममा सागर ढकाल र सहाब आलमले समान चार तथा करिम जनत र सोमपाल कामीले समान एक विकेट लिए ।
चितवनसँग पराजित पोखराले फाइनल प्रवेशका लागि बिहिबार दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्स र काठमाडौं किंग्स इलेभन भिड्दैछन् ।
फाइनल शनिबार हुनेछ ।