रनरेटमा काठमाडौं भाग्यमानी, प्लेअफ समिकरण पूरा 

काठमाडौं, (खेलाडी)-  काठमाडौं किंग्स इलेभनले एभरेष्ट प्रिमियर लिग (इपिएल) को प्लेअफमा स्थान बनाएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भैरहवा ग्ल्याडियटर्स र काठमाडौबीच तय खेल ओसिलो मैदानका कारण सम्भव नभएपछि दुवै टोलीले एक अंक बाँडेका थिए ।

भैरहवाविरुद्ध एक अंक बटुलेपछि काठमाडौं रनरेटमा भाग्यमानी बन्दै चौथो टोलीको रुपमा प्लेअपमा प्रवेश गरेको थियो । पाँच खेलमा एक जित ,तीन हार र एक बराबरीपछि काठमाडौ र ललितपुरको समान तीन अंक थियो । काठमाडौंको रन रेट ०.३३७ रहेको छ भने ललितपुरको रनरेट -०.६०१ रहेको छ ।

पाँच खेलमा आठ अंकका साथ शीर्ष  स्थानको चितवन, सात अंक जोडेको पोखरा राइनोज र समान सात अंक बटुलेको भैरहवा यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका थिए ।

पहिलो क्वालिफायर शीर्ष स्थानको चितवन र दोस्रो स्थानको पोखराबीच हुने छ भने दोस्रो क्वाफिलफायर तेस्रो स्थानको भैरहवा र चौथो स्थानको काठमाडौंबीच हुनेछ ।

चितवन र पोखराबीचको विजेता टोली स्वतःफाइनल प्रवेश गर्नेछ । पराजित टोलीले भने फाइनल प्रवेशका लागि भैरहवा र काठमाडौंबीच दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

क्वालिफायरका खेलहरु बुधबारबाट हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।