भैरहवा र विराटनगर पहिलो जितको खोजीमा 

काठमाडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज पाहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध मैदान उत्रदा काठमाडौं किंग्स जितको लयमा निरन्तरता चाहन्छ ।

खेल ९ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

काठमाडौंले शनिबर प्रतियोगितामा सुखद सुरुआत गर्ने क्रममा ललितपुर पेट्रियट्समाथि सात विकेटको सहज जित हात पारेको थियो । पाकिस्तानका पूर्व अलराउन्डर साहिद अफ्रिदीका लागि विराटनगरविरुद्धको खेल यस सिजन इपिएलमा यो अन्तिम खेल हुनेछ ।

शनिबार ललितपुरविरुद्ध बलिङमा उल्लेख्य प्रदर्शन गर्न नसकेका काठमाडौंका अफ्रिदी लक्ष्य पछ्याउने क्रममा ब्याटिङमा उत्रिनै परेन । 

यता पहिलो खेलमा आइतबार चितवन टाइगर्ससँग अन्तिम बलमा निराश बनेको विराटननगर वारियर्स काठमाडौंमाथि जितसहित प्रतियोगितामा अंक खाता खोल्न चाहन्छ । 

आज हुने दोस्रो खेलमा भैरहवा ग्ल्याडिएटर्स र चितवन आमनेसामने  हुँदैछ ।

पहिलो खेलमा पोखरा राइनोजविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि वर्षा बाधक बन्दा अंक बाँड्न बाध्य भएको भैरहवा चितवनलाई हराउदै प्रतियोगितामा स्पष्ट दुई अंक जोड्न चाहन्छ ।

त्यस्तै विराटनगरविरुद्ध रोमाञ्चक जित हात पारेको चितवन सुखद नतिजाको निरन्तरता चाहन्छ ।