पोखरा र भैरहवाबीचको खेलमा वर्षा बाधक

काठमाडौं,(खेलाडी)-  वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल रद्द भएको छ । 

पोखरा १० ओभर ६५-७ मा खेलिरहदा वर्षाले खेल रोकिएको थियो ।

वर्षा नरोकिएपछि पोखरा र भैरहवाबीचको खेल रद्द भएको हो । दुई टोलीले एक एक अंक बाडे ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा भैरहवाका तिब्र गतिका बलर दुर्गेश गुप्ताको कसिलो बलिङमा निहिर बनेको थियो ।

तीन ओभर बलिङ गरेका दुर्गेशले एक मेडन ओभर सहित १६ रन खर्चिएर तीन विकेट लिएका थिए । यस्तै धमिका प्रसाद, अबिनाश बोहरा र तुल बहादुर थापाले एक एक विकेट लिएका थिए । 
पोखराका एसेला गुणारत्नेले सर्वाधिक २३ रन जोडे । यस्तै बिवेक यादवले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

पोखराका रिचार्ड लेभी, कप्तान बिनोद भण्डारी, लोकश बम र केसरिक विलियम्स डक आउट भएका थिए । 

प्रतियोगिताको तेस्रो दिन तथा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा काठमाडौं र विराटनगर तथा दोस्रो खेलमा चितवन र भैरहवा भिड्नेछन् ।