चितवनको रोमाञ्चक जित

काठमाडौं, (खेलाडी)- चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग(इपिएल) मा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई दुई विकेटले हरायो ।

अन्तिम बलमा जितका लागि एक रन आवश्यक रहदा अनिल खरेलको बलमा राजेश पुलामीले चौका प्रहार गर्दै चितवनको रोमाञ्चक जित पक्का गरेका थिए ।

विराटनगरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य चितवनले अन्तिम बलमा पूरा गरेको थियो ।

चितवनका राजेश पुलामीले सर्वाधिक ४३ रन जोड्दा भिम सार्कीले ३० रन जोडे । भिमले ११ बलमा पाँच चोैका र एक छक्का प्रहार गरे । त्यस्तै दिलिप नाथले २३ र करिम जनतले १९ रन जोडे ।

विराटनगरका सिकन्दर राजा र कप्तान करण केसीले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५१ रन जोड्यो ।

विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको योगदान गर्दा अनिल शाहले ३२ र सौरभ खनालले अविजित ३० रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले पहिलो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेखलाई गुमायो । आसिफलाई चितवनका कप्तान सोमपाल कामीले करिम जनतबाट क्याच गराएका थिए । पहिलो ओभरको अन्तिम बलमा सोमपालले रायन पठानलाई बोल्ड गर्दा विराटनगरले ६  रनमा दोस्रो विकेट गुमायो ।

दोस्रो ओभरको पाँचौ बलमा कलमसिंह ऐरीले दुई रन मात्र जोडेका अर्को ओपनर चन्द्रपाउल हेमराजलाई बोल्ड गरेपछि विराटनगर दबाबमा आएको हो ।

९–३ को स्थितीमा ब्याटिङका लागि आएका राजाले तेस्रो विकेटका लागि अनिलसँग ६१ र सातौ विकेटका लागि सौरभसँग ५१ रनको साझेदारीका साथ विराटनगरालई सम्मानजनक योगफलतर्फ डोहो¥याएका थिए ।राजाले ४७ बलमा दुई चोैका र सात छक्का प्रहार गर्दा सौरभले १९ बलमा तीन चोैका र दुई छक्का प्रहार गरे । 

चितवनका सोमपाल, करिम, कमल र सागर ढकालले समान दुई विकेट लिए ।