होल्डरको अलराउन्ड प्रदर्शनका बावजुद हैदराबाद पराजित

दुबई, (खेलाडी)- रवि विस्नोईले तीन तथा मोहम्मद सामीले दुई विकेट लिएपछि पञ्जाब किंग्सले शनिबार इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा एक सय २५ रनको सानो स्कोर रक्षा गर्दै सनराइजर्स हैदराबादमाथि पाँच रनको जित हासिल गरेको छ । 

पञ्जाबका बलरहरुले कसिलो बलिङ गरेपछि हैदराबाद निर्धारित २० ओभरमा १२०/७ मा सीमित भएको थियो । 

पञ्जाबका विस्नोईले चार ओभरमा २४ रन खर्चिँदै तीन विकेट लिँदा सामीले चार ओभरमा एक मेडन राख्दै १४ रन खर्चेर दुई विकेट लिए । यसैगरी अस्रदिप सिंहले चार ओभरमा २२ रन खर्चेर एक विकेट लिए । 

एक सय २६ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादका लागि जेसन होल्डरले अविजित ४७ रनको योगदान गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । होल्डरले आक्रामक ब्याटिङ गर्दै २९ बलमा पाँच छक्का प्रहार गरेका थिए । 

हैदराबादका ओपनर ऋदिमन शाहले ३७ बलमा एक चौकासहित ३१ रन बनाए भने मनिष पाण्डेले १२ तथा केदार जादवले १२ रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंकमा स्कोर गर्न सफल भएनन् । 

यसअघि टस हारेर ब्याटिङलाई निम्त्याइएको पञ्जाबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २५ रन बनाएको थियो । 

पञ्जाबका लागि एडेन मार्करामले बनाएको २७ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । मार्करामले ३२ बलमा दुई चौका प्रहार गरेका थिए । 

यसैगरी कप्तान केएल राहुलले २१ बलमा तीन चौकासहित २१ रन बनाउँदा हरप्रित ब्रारले १८ बलमा एक चौकासहित अविजित १८ रन जोडे । क्रिस गेलले १४, दीपक होडाले १३ र नाथान इलिसले १२ रन बनाएका थिए । 

हैदराबादका जेसन होल्डरले तीन विकेट लिँदा सन्दीप शर्मा, भुवनेश्वर कुमार, रसिद खान र अब्दुल सामादले एक/एक विकेटमा नाम लेखाए ।