बिबिएल

पर्थ लगातार दोस्रो पटक च्याम्पियन

फाइल फोटो

काठमाडौं । पर्थ स्कोचर्स लगातार दोस्रो पटक अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग बास लिग (बिबिएल) को च्याम्पियन बनेको छ ।

पर्थले घरेलु मैदानमा शनिबार सम्पन्न १२ औं संस्करणको फाइनलमा ब्रिसबेन हिटलाई पाँच विकेटले पराजित गरेको हो ।

पर्थको समग्रमा याे पाँचौँ बिबिएल उपाधि हो । यसअघि पर्थले तेस्रो, चौथो, छैटौं र ११ औं संस्करणको उपाधि जितेको थियो ।

पर्थ स्टेडियममा ब्रिसबेनले प्रस्तुत गरेको एक सय ७६ रनको लक्ष्य पर्थले दुई बल बाँकी छँदा पाँच विकेट गुमाउँदै भेट्टायो ।

पर्थका लागि  कप्तान एस्टोन टर्नरले ३२ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५३ रन जोडे । यसैगरी जोस इङ्लिसले २६, कुपर कोनोलीले अविजित २५, स्टेफन स्किनाजीले २१, निक होब्सनले अविजित १८ अरोन हार्डीले १७ र क्यामरुन ब्रेनक्रफ्टले १५ रन बनाए ।

ब्रिसबेनका लागि जाभियर बर्टलेट, स्पेन्सर जोनसन र म्याथ्यु कुनेम्यानले समान एक विकेट लिए  ।

यसअघि टस जितेर ब्याटिङ रोजेको ब्रिसबोनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७५ रनको योगफल तयार पारेको थियो ।  

ब्रिसबोनका लागि नाथन म्याकस्विनेले ४१, साम हेज्लेटले ३४, म्याक्स ब्रायन्टले ३१, जोस ब्राउनले २५ र साम हाइनले अविजित २१ रन बनाए ।

पर्थका लागि जेसन बेहरेन्ड्रोफ र म्याथ्यु केलीले समान दुई तथा एन्ड्रयु टाई, डेविड पायने र आरोन हार्डीले समान एक विकेट लिए ।