एलपिएल

लिटल फ्लावर प्रिमियर लिगको तयारी पुरा

धनगढीमा । शनिवारबाट सुरु  हुने विद्यालय स्तरीय यु-१९ राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को तयारी पुरा भएको छ । 

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । 

सोही अवसरमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक गर्दै विष्टले यो प्रतियोगिताले उमेर समूहका खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको बताए । ‘एलपीएल वास्तवमै ग्रास रुटमा खेलाडी उत्पादनको राम्रो प्लेटफर्म बन्न सफल भएको छ, विष्टले भने, ‘अहिले यसै प्रतियोगिताबाट उत्पादन भएर राष्ट्रिय टिममा परिसकेका खेलाडी समेत हाम्रै अघि उदाहरणका रूपमा छन् ।’ 

विष्टले यस्ता प्रतियोगिताको संरक्षण र बढवा दिनुपर्नेमा जोड दिँदै क्रिकेट संघ त्यसका लागि सबै सहयोग गर्न तत्पर रहेको बताए ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । ‘उद्घाटन समारोहका लागि गर्नुपर्ने तयारी बाहेक प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ’, शाहीले भने, ‘यो प्रतियोगितालाई थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने हाम्रो प्रयास जारी छ । त्यसमा विगत जस्तै यो र आगामी संस्करणमा पनि यहाँहरूको महत्पूर्ण सहयोग रहने हामीले अपेक्षा राखेका छौँ ।’

प्रतियोगिताको सातौँ संस्करण शनिबार बिहान साढे १० बजे  उद्घाटन गरिने छ । प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिातको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।

 प्रतियोगिताको यो संस्करणमा १० टोलीको सहभागिता छ । फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई दुई लाख ५१ हजार एक सय ११ र उपविजेतालाई एक  लाख २५ हजार  पाँच सय २५  रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले समा १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । उदयिमान खेलाडीलाई नगद पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई  दुई हजार  रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक विद्यालयले आफ्नो टोलीमा चार जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।