क्रिकेट

क्रिकेटर माया गर्ने एमपी स्कुल मैदान, जसले सयौं स्टार जन्माएको छ

नेपालगन्ज । नेपालगन्जमा सयाैं  सामुसदायिक विद्यालय छन् । तर थोरै विद्यालयको मात्र आफनो मैदान छ । लामो इतिहास बनाएका विद्यालयमा पनि मैदान छैनन । जसका कारण क्रिकेटको सहर भनेर परिचय बनाएको नेपालगन्जमा मैदानको अभाव सधै हुने गर्छ ।

नेपालगन्जको क्रिकेट अझै एउटा विद्यालयको मैदानमा टिकेको छ, त्यो हो मंगल प्रसाद उच्च माविको मैदान । जसलाई नेपालगन्जका क्रिकेटर माया गर्छन,
त्यहाँ खेल्न पाउँदा गर्व महशुस गर्छन् ।

क्रिकेटरका लागि मंगलप्रसाद मावि (एमपी) स्कुलको को मैदान विशेष छ । क्रिकेटको क्रेज बढाउने पवित्र मैदानका रुपमा लिन्छन् यहाँका क्रिकेटकर्मीले मंगलप्रसाद उच्च माविको खेल मैदानलाई । जहाँबाट सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  स्तरका खेलाडी उत्पादन भएको इतिहास छ । 

क्रिकेटर उत्पादन गर्ने त्यही मैदानमा फेरी एउटा प्रतियोगिता हुँदैछ, जसले यहाँका क्रिकेटकर्मीलाई उत्साही बनाइरहेको छ । बुधबार मंगलप्रसाद माविको मैदानमा पुग्दा आयोजक बाँके जिल्ला क्रिकेटका पदाधिकारी र प्राविधिकहरु पिच निर्माण गर्ने देखि लिएर मैदानमा माटो पटान गर्ने कार्यमा व्यवस्थ थिए ।

मैदान तयारी भैरहेका बेला मैदानको एउटा भागमा घरेलु टिम मंगलप्रसाद उच्च माविका खेलाडीसहित अन्य क्लबका खेलाडीले प्रतियोगिताको लागि अभ्यास गरिरहेका
थिए ।
बाँके जिल्लाका खेलाडीलाई लक्षित गरेर आगामी शनिबार देखि यो मैदानमा नेपालगन्ज मेयर पुरुष  तथा उपमेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ ।  प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगिसकेको छ ।

प्रतियोगिताले खस्कदो क्रिकेटको स्तरलाई माथि उकास्न महत्वपूर्ण सहयोग गर्ने बताउँछन् बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई । 
 

प्रसाई भन्छन,‘विगतको संस्करण कोहलपुरमा भएको थियो । यसपटक हामीले मंगलप्रसादको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेका छौं । मंगल प्रसाद उच्च माविको मैदानमा खेल्न पाउँदा हामीलाई गर्व महसुस हुन्छ । अरु क्रिकेटर पनि मंगलप्रसादमा खेलेको भन्दै गर्व महसुस भएको बताउँछन् । यस्तो मैदानमा  खेल्न पाउनु हाम्रा खेलाडीको लागि यो अवसर हो ।’

प्रतियोगिताले बाँकेमा क्रिकेटको चहलपहल फेरी बढाएको बताउँछन अध्यक्ष प्रसाई । उनले भने, ‘खेलाडीहरुको लागि यो प्रतियोगिता उत्कृष्ट अवसर हो । यसलाई हामीले छनोट प्रतियोगिताको रुपमा पनि लिएका छौं । खेलाडी उत्पादन निकै कम भएकाबेला यसले हामीलाई धेरै फाइदा गर्नेछ । खस्कदो क्रिकेटको अवस्थालाई माथि उकास्ने हाम्रो विश्वास छ ।’

प्रतियोगिता आयोजना गर्न दिएकोमा अध्यक्ष प्रसाईले विद्यालय परिवारलाई धन्यवाद दिए । नेपालगन्ज उप-महानगरपालिकाले सहयोग गरेको प्रतियोगिताको संयोजक सुफियान खान पठान छन् भने प्राविधिक संयोजकमा मनमोहन लम्साल छन् ।

बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक पठानले प्रतियोगिता आयोजना गर्नमा सिनियर क्रिकेटर देखि लिएर संघका पदाधिकारी, प्राविधिक र प्रशिक्षकहरुले निकै मिहिनेत गरेको बताउँछन । उनले भने, ‘तयारी निकै उत्साहका साथ भैरहेको छ । यसमा सबैले सहयोग गर्नु भएको छ । त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौं । यस प्रतियोगिताले बाँके जिल्लाको स्तर बढाउन महत्वपूर्ण सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’

संयोजक पठानका अनुसार प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ६ टिमलाई सहभागी गराउने योजना छ ।

स्थानीय खेलाडीको पहिचान र उनीहरुलाई अवसर दिने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा बाँके जिल्लामा रहेका क्लब, विद्यालय र बाँके जिल्लाबाट सबै खाले खेलाडी र टिमले  सहभागिता जनाउन पाउँनेछन् ।

प्रतियोगिताको पुरस्कारको बारेमा संघले छिटै सार्वजनिक गर्ने बताएको छ ।  

बाँकेमा क्रिकेटका धेरै क्लब भए पनि तिनिहरु सक्रिय छैनन् । प्रतियोगिताले बाँके जिल्लामा रहेका क्रिकेट क्लबलाई पनि सक्रिय बनाउने वातावरण सृजना गर्ने बताउँछन राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका प्रशिक्षक
दिपेन्द्र प्रताप सिंह ।


सिंह भन्छन, ‘प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर र प्रतिभा छनोटमा सधै सहयोग गर्छ । यस प्रतियोगितामा क्लबले पनि भाग लिन पाउने भएकोले अरु भन्दा
भिन्न छ । क्लबहरुलाई सक्रिय बनाउन यस्ता प्रतियोगिता आवश्यक छ ।’

नयाँ प्रतिभा जन्माउनको लागि संघले वार्षिक योजना बनाएर लिग प्रतियोगिता गर्नुपर्ने प्रशिक्षक सिंहको सुझाव छ ।

प्रतियोगिता आयोजनाको खबरले नेपालगन्जका खेलाडीहरुमा नयाँ उत्साह जागेको बताउँछन बाँके जिल्ला क्रिकेट संघका सदस्य मेराज अन्सारी ।

खेलाडी छनोटकर्ताको रुपमा पनि काम गरिरहेका अन्सारी भन्छन, ‘धेरै पछि एमपी स्कुलमा क्रकेट प्रतियोगिता हुँदा सबै जना खुसी छन् । क्रिकेटमा करियर बनाउन चाहने
नयाँ प्रतिभाहरुका लागि प्रतियोगिता एउटा अवसर हो । क्रिकेट विकासका लागि विभिन्न प्रकारका प्रतियोगिता र नियमित प्रशिक्षण हुनु पर्छ । संघले पनि आगामी दिनमा यसलाई निरन्तरता दिने प्रयास गर्छ ।’