एसपिए

एसपिएलाई मोस्ट कोपरेटिभ अवार्ड

काठमाडौं । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपिए) ले भारतको लखनउमा भएको छैटौं इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा मोस्ट कोपरेटिभ(सहयोगी) टिम अवार्ड जितेको छ ।

सिटी मन्टेश्वरी स्कुलको आयोजनामा बुधबार सम्पन्न भएको एसपिएले प्रतियोगितामा सहभागी श्रीलंका, ओमान, जिम्बाम्वे र भारतका १५ टोलीलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेको हो ।

मैदानभित्र र बाहिर उत्कृष्ट खेलभावना प्रदर्शन गरेको भन्दै एसपीएलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै एसपिए टोलीका प्रशिक्षक भागिराम बखरियाले यसले देशकै गौरव बढेको बताए ।

‘हामी यहाँ एउटा कलेजका रूपमा मात्रै नभएर नेपालकै प्रतिनिधित्व गरेका आएका थियौं,’बखरियनले भने,‘हामीले आफ्नो खेल भावनाको सम्मान गर्दै सहयोगीपन देखाएका छौं । अवार्डले नेपालीहरु सहयोगी भावनाका हुन्छन् भन्ने सन्देश फैलाउन पनि सफल भएका छौं ।’

लिग चरणमा सुरुआती दुई खेलमा हार ब्यहोरे पनि अन्तिम खेलमा एसपिएले कोलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई एक सय १० रनले पराजित गर्दै सान्त्वना जित निकालेको थियो ।