मिथिला कप

मिथिला कपः हुसेनको उत्कृष्ट प्रदर्शनमा बजाज युथ विजयी

काठमाडौं । सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा बजाज युथ क्रिकेट क्लब विजयी भएको छ।

बजाज युथले बिहिबार  सम्पन्न खेलमा साबिक विजेता युनाइटेड क्रिकेट क्लब पर्सालाई पाँच रनले पराजित गरेको हो ।

बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा बजाज युथले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य पछ्याएको युनाइटेडले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट विकेट गुमाउँदै एक सय आठ रन मात्र बनाउन सक्यो ।

युनाइटेडको लागि यु-१९ राष्ट्रिय टोलीका सदस्य सन्तोष कार्कीले सर्वाधिक ३८ रन जोडे । यसैगरी अल्फाज मन्सुरीले २५, सम्साद मन्सुरीले २३ रन बनाए।

बजाज युथका लागि मोहम्मद हुसेन चार तथा विपिन खत्री, मिकु मण्डल र अभय मण्डलले समान एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको बजाज युथले निर्धारित २० ओभरमा आठ विकेट  गुमाउँदै एक सय १३ रनको योगफल तयार पारेको थियो । 

बजाज युथका लागि पपु यादवले सर्वाधिक २५ रन जोडे । यसैगरी विपिन खत्रीले २० रन, मोहम्मद हुसेनले १२ तथा सन्दिप क्षेत्रीले १० रन बनाए।

युनाइटेडका लागि  सम्साद मन्सुरीले तीन, सैफुल्लाह अन्सारी र सम्साद अन्सारीले समान दुई तथा ब्यास यादवले एक विकेट लिए।

युवा शक्ति क्लबको आयोजनमा भइरहेको नकआउट प्रतियोगितामा १६ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।