सन्दीप लामिछाने

सन्दीप राष्ट्रिय टोलीमा

काठमाडौं । बलात्कारको आरोप खेपिरहेका पूर्व कप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीमा समावेश भएका छन् ।

क्यानले बिहिबार सन्दीपलाई समेट्दै दोस्रो चरणको बन्द प्रशिक्षका लागि २० सदस्यीय टोली घोषणा गरेको हो । यसअघि घोषणा भएको २८ सदस्यीय टोलीमा सन्दीप अटाएका थिएनन् ।  

सन्दीप बिहिबारबाटै बन्द प्रशिक्षणमा सामेल भएका थिए । दास्रो चरणका लागि घोषणा भएको टोलीमा सन्दीप र प्रतिश जिसीले स्थान बनाउँदा विनोद भण्डारी, विवेक यादव, अविनाश बोहरा, सिद्धान्त लोहनी शरद भेषवाकर, अनिल शाह, विक्रम सोब, भुवन कार्की, सागर ढकाल  र अंकत सुवेदी बाहिरिएका छन् ।

नेपाली टोली आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-दुई अन्तर्गत घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखला आउँदो फागुन दुई गतेदेखि सुरु हुनेछ ।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।

नाबालिग बालात्कारको आरोप लागेपछि क्यानले गएको भदौ २३ मा सन्दीपलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि सन्दीप पुस २९ मा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको मुद्दा अझै विचाराधिन अवस्थामा छ ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

भदौ पाँच गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

मंगलबार र बुधबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो ।

नेपाली टोली: 
रोहितकुमार पौडेल, आशिफ शेख,  कुशल भुर्तेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, अर्जुन साउद