सन्दीप लामिछाने

बलात्कारका अभियुक्त राष्ट्रिय टोलीको प्रशिक्षणमा

काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने बिहिबारबाट नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् ।

राष्ट्रिय टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीप टोलीको बन्द प्रशिक्षणमा फर्किएको जनाकारी दिए ।

‘सन्दीप आजबाट बन्द प्रशिक्षणमा फर्किएका छन् । उनी आज नै टोली बसेको होटल जाने तयारीमा छन्,’ चौधरीले भने ।

नाबालिग बालात्कारको आरोप लागेपछि क्यानले गएको भदौ २३ मा सन्दीपलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि सन्दीप पुस २९ मा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको मुद्दा अझै विचाराधिन अवस्थामा छ ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

भदौ पाँच गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

मंगलबार र बुधबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो ।

नेपाली टोली आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–दुई अन्तर्गत घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखला आउँदो फागुन दुई गतेदेखि सुरु हुनेछ । सोही शृंखलाका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा भइसकेको छ । जसमा सन्दीप अटाएका छैनन् ।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।