भारतीय क्रिकेट

कोहलीको कीर्तिमान गिलले तोडे

काठमाडौं । न्युजिल्यान्डविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा शतक प्रहार गर्दै भारतीय क्रिकेटर शुभमन गिलले बुधबार विराट कोहलीको कीर्तिमान तोडेका छन् ।

अहमदाबादमा सम्पन्न तेस्रो खेलमा ओपनर गिलले ६३ बलमा १२ चौका र सात छक्काको मद्दतमा अविजित एक सय २६ रन बनाएका थिए ।

यससँगै गिल भारतका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एकै इनिङमा सर्वाधिक रन बनाउने भारतीय ब्याटर बनेका छन् । कोहलीले गत सेप्टेम्बरमा अविजित एक सय २२ रन बनाउँदै कायम गरेको कीर्तिमानमा बुधबार गिलले चार रनको सुधार गरे ।

कोहलीले एसिया कप २०२२ अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा ६१ बलमा १२ चौका र ६ छक्कासहित अविजित एक सय २२ रन बनाएका थिए ।

गिल भारतबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने पनि बनेका छन् । गिलले २३ वर्ष १ सय ४६ दिनमा शतक प्रहार गरेका हुन् ।

यसअघि कम उमेरमा सतक बनाउने कीर्तिमान सुरेश रैनाको नाममा थियो । रैनाले सन् २०१० मा २३ वर्ष एक सय ४६ दिनको उमेरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका थिए ।