अमेरिकामाथि स्विट्जरल्यान्डको जित

लस एन्जल्स, जेठ १७ (खेलाडी)– स्टेभन जुबेर र रिकार्डो रोडरिग्वेजजको गोलमा स्विट्जरल्यान्डले गए राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई २–१ ले पराजित गरेको छ । यससँगै अमेरिकाको नौं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
 

विश्व वरियाताको २०औं स्थानमा रहेको अमेरिकाले सेवास्टिन लेटगेटको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो । १३औं स्थानमा रहेको स्विट्जरल्यान्डका रोडरिग्वेजले दशौं मिनेटमा बराबरी गोल फर्काए । जुबेरले ६३औं मिनेटमा गरेको गोल स्विट्जरल्यान्डको जितमा निर्णयक बन्यो । रोडरिग्वेजले ४२औं मिनेटमा गरेकोे प्रहारले पोष्टको दिशा लिन सकेको थिएन । 


स्विट्जरल्यान्डको यो लगातार पाँचौं जित हो । स्विट्रल्यान्डले १२ जुनमा वेल्सविरुद्धको खेलबाट युरो २०२० को सुरुआत गर्नेछ । स्विट्जरल्यान्डले समूह ‘ए’ मा वेल्ससँग इटाली र टर्कीसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले अब कान्काकाफ नेसन्स लिगमा बिहीबार राती होन्डुरसविरुद्ध खेल्नेछ ।