नेपालविरुद्ध भारत मैत्रीपूर्ण फुटबल, टिकट मुल्य २ हजार र १ हजार

काठमाडौं, (खेलाडी)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलीबाट सुरु हुने भारतविरुद्धका दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि टिकटको मुल्य तोकेको छ । 

एन्फाले भिआइपी प्यारापिटतर्फको टिकट मुल्य २ हजार तथा सामान्य प्यारापिटतर्फको मुल्य १ हजार तोकेको छ । 

टिकट विक्रीका लागि एन्फाले प्रभु पेसँग सम्झौता गरेको छ । दर्शकसहित खेल गराउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि एन्फाले यस्तो व्यवस्था गरेको हो । 

सरकारले ५ हजार १ सयसम्म दर्शक राखेर नेपाल र भारतबीचको खेल गराउन एन्फालाई अनुमति दिएको बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी गराएका थिए । 

एन्फाले कोभिड १९ विरुद्धको खोप लगाएका र पिसिआर गरेका दर्शकलाई मैदान प्रवेश गर्न दिने बताएको छ ।

अर्को महिना माल्दिभ्सको राजधानी मालेमा हुने साफ च्याम्पियनपिमा सहभागिताको तयारीमा रहेका नेपाल र भारतबीच त्यसैका लागि मैत्रीपूर्ण खेल हुन लागेको हो । मैत्रीपूर्ण खेलका लागि भारतीय टोली हिजो काठमाडौं आइपुगेको थियो । 

नेपाली टोली भने साफ च्याम्पियनसिपका लागि दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । मैत्रीपूर्ण खेलअघि नेपाली टोली पोखरामा दुई साताको अभ्यास गरेर केही दिनअघिमात्र काठमाडौं फर्किएको थियो । दुई टोलीबीच पहिलो खेल भोली बिहीबार हुनेछ भने दोस्रो खेल आइतबार दशरथ र‌गशालामा हुनेछ ।