जिम्मेवार निकाय गैह्रजिम्मेवार बन्दा करोडौंका खेल सामाग्री अलपत्र

काठमाडौं, (खेलाडी)- १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि खरिद गरिएको उसुका म्याट र बास्केटबल ब्याकस्टप उचित व्यवस्थापन नहुदा राज्यको करौडौं लगानी व्यर्थ बनेको छ । 

सागका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उसुलाई थाउलो म्याट एक सेट तथा सान्सो प्लेटफर्म २ थान उपलब्ध गराएको थियो । यसैगरी बास्केटबल संघलाई ३ सेट ब्याकस्टप उपलब्ध गराएको थियो ।

साग सकिएको २ वर्ष पूरा हुन लागिसक्यो । तर सागका लागि आएका करोडौंका खेल सामाग्री प्रयोगमा त आएनन नै, तिनको उचित व्यवस्थापन समेत हुन नसक्दा लगानी व्यर्थ हुने खतरा बढेर गएको छ । 

सम्बन्धित खेलका नियमनकारी निकायका रुपमा क्रियासिल नेपाल उसु संघ र नेपाल बास्केटबल संघ तथा सम्पूर्ण नेपाली खेलकुदको सर्वोच्च निकाय राखेप गैह्रजिम्मेवार बन्दा करोडौं खर्चेर ल्याइएका खेल सामाग्रीको यो दूर्गति भएको हो ।

हामीले १३औं सागमा सम्बन्धित संघहरुलाई खेलकुद सामाग्री उपलब्ध गराएका थियौं । ती सामानहरुको उचित व्यवस्थापनको जिम्मेबारी पनि ती संघहरुकै हो ।

खेलकुद सामाग्रीको व्यवस्थापनबारे सोध्दा राखेप, उसु संघ र बास्केटबल संघ एकअर्कालाई आरोप लगाउदै पन्छिदै आएका छन् ।

राखेपका भण्डार शाखाका प्रमुख सुजन खतिवडा सम्बन्धित संघलाई खेलकुद सामाग्री हस्तान्तरण गरिसकेको बताउँदै ति सामानको प्रयोग र व्यवस्थानको जिम्मेवारी सम्बिन्धित संघकै हुने बताउँछन् । 

‘हामीले १३औं सागमा सम्बन्धित संघहरुलाई खेलकुद सामाग्री उपलब्ध गराएका थियौ,’ खतिवडाले भने, ‘त्यसैले ती सामानहरुको उचित व्यवस्थापनको जिम्मेबारी पनि ती संघहरुकै हो ।’
 
यता नेपाल उसु सघका महासचिव लाक्पा लामाले भने राखेपले संघका कुरा नसुन्ने र आफै पनि खेल सामाग्रीहरुको व्यवस्थापन नगर्ने व्यवहार देखाउँदा समस्या आएको प्रतिक्रिया दिए । 

‘उसु खेलले पनि १३औं सागमा आफ्नो दरिलो उपस्थिती जनाएको थियो । तर यो खेल अहिलेसम्म पनि सरकारको प्राथमिकतामा पर्न सकेन,’ खेलाडीसँगको कुराकानीमा उनले भने, ‘हामीले तत्कालिन सदस्यसचिव केशवकुमार विष्टकै पालादेखि उसुका लागि सेमिकभर्डहल उपलब्ध गराइदिन बारम्बार आग्रह गर्दै आएका छौं । वर्तमान सदस्य सचिव रमेशकुमार सिलवाललाई पनि हामीले सेमिकभर्डहल उपलब्ध गराउनका लागि पटकपटक आग्रह गरिसकेका छौं । तर हाम्रो आग्रहको अहिलेसम्म सुनुवाई भएको छैन ।’

वर्षाको समयमा यी खेल सामाग्रीको उचित व्यवस्थापन होस् भनेर हामीले पटकपटक बजेट माग गर्‍यौं तर त्यसको सुनुवाई भने भएन ।

लामाले १३औं सागपछि राखेप भण्डारमा त्यसै थन्किएको एक सेट थाउलोको म्याट र एक थान सान्सोको प्लेटफर्म सेमिकभर्डहलमा राखेर खेलाडीलाई नियमित अभ्यास गराइरहेको बताए । 

‘यो समान भण्डारबाट सेमिकभर्डहल सम्म लैजान दुई दिनमा ३५ कामदार लागेका छन् । उनीहरुको खर्च पनि संघले नै बेहोरेको हो,’ उनले थपे, ‘वर्षाको समयमा यी खेल सामाग्रीको उचित व्यवस्थापन होस् भनेर हामीले पटकपटक बजेट माग गर्‍यौं तर त्यसको सुनुवाई भने भएन ।’

आफ्ना मागको सुनुवाई नभएपछि संघले जग्गा भाडामा लिएर भए पनि आफ्नै सेमिकभर्डहल बनाउने निर्णय गरिसकेको बताउँदै त्यसपछि सबै समस्या समाधान हुने उनले दाबी गरे । भने, ‘छिट्टै सेमिकभर्डहल बनाएर ती सामानहरुको उचित  संरक्षण गर्छौ ।’

त्रिपुरेश्वरस्थित राखेप मुख्यालय हातामा एउटा सेमिकभर्डहल छ । त्यसमाथि उसुसँगै अरु पनि थुप्रै संघको आँखा परेको छ । बास्केटबल संघले पनि सागका बेला ल्याएका सामान व्यवस्थापनका लागि त्यही सेमिकभर्डहल राखेपसँग मागेको छ । 

बास्केटबल संघका महासचिव नरेन्द्र थापा सागमा आएका सामान व्यवस्थापनका लागि सेमिकभर्डहल उपलब्ध गराउन माग गरे पनि सुनुवाई नभएको गुनासो राख्छन् । 

संघको हालै मात्र बसेको बैठकले अहिले बास्केटबलको सामान रहेकै स्थानमा सेमिकभर्डहल बनाएर त्यसलाई अभ्यासस्थल बनाउने निर्णय गरेका छौं । आशा छ, यस पटक हाम्रो प्रस्तावमा राखेप सकारात्मक बन्नेछ ।

‘हामीले सेमिकभर्डहलमा स्थान उपलब्ध गराउन माग गर्‍यौं । तर त्यहा उसुको म्याट राखिएको र दैनिक प्रशिक्षण हुने भन्दै राखेपले हाम्रो मागको सुनुवाई गरेन,’ थापाले भने ।

थापाका अनुसार संघको बैठकले अहिले बास्केटबलको सामान बेवारिस अवस्थामा रहेको स्थानमै सेमिकभर्डहल बनाउने निर्णय गरेको छ । तर राखेपको स्वामित्वमा भएको ठाउँमा पूर्वाधार बनाउन संघको निर्णय पर्याप्त हुँदैन । त्यसका लागि राखेपको अनुमति आवश्यक पर्छ । 

‘संघको हालै मात्र बसेको बैठकले अहिले बास्केटबलको सामान रहेकै स्थानमा सेमिकभर्डहल बनाएर त्यसलाई अभ्यासस्थल बनाउने निर्णय गरेका छौं । आशा छ, यस पटक हाम्रो प्रस्तावमा राखेप सकारात्मक बन्नेछ,’ थापाले खेलाडीसँग भने ।