नेपाली बाल खेलाडीलाई तीन स्वर्ण

काठमाडौं, (खेलाडी)- नेपालको एमिल तेक्‍वान्दो डोजाङका खेलाडीले तेस्रो एमके क्लासिक खुला अन्तर्राष्‍ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण एक रजत र एक कांश्य पदक जितेका छन् । 

छात्रतर्फ १० वर्ष मुनिको उमेर समूहमा एड्रिम राई र नौं वर्ष मुनिको उमेर समूहमा कर्मा तामाङ तथा छात्रा सात वर्ष मुनिको उमेर समूहमा विशेषता रन्जितले स्वर्ण पदक जितेको राष्‍ट्रिय खेलकुद परिषदले जनाएको छ ।

छात्र नौं वर्ष मुनिको उमेर समूहमा आराध्यादेव अछामीले रजत तथा १३ वर्ष मुनिको ब्ल्याक बेल्टमा स्वरुप बायुङ राईले कांश्य पदक जितेको एमिलका प्रमुख प्रशिक्षक विश्‍व राईलाई उद्धृत गर्दै परिषदले जनाएको छ । प्रतियोगितामा राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा एमिलबाट ५ खेलाडी सहभागी भएकोमा सबै जना पदक जित्‍न सफल भएका थिए । प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो ।