लोन सम्झौतामा रियालबाट डियाजको मिलान सरुवा

मिलान, (खेलाडी)- इटालियन महारथी एसी मिलानले ब्राहिम डियाजलाई पुनः सान सिएरोमा स्वागत गर्ने क्रममा दुई वर्षे लोन सम्झौतामा रियाल मड्रिडबाट भित्र्याएको छ ।

स्पेनका २१ वर्षे खेलाडी डियाजले मिलानमा १० नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ । डियाजले २०२३ जुन ३० सम्मका लागि लोन सम्झौता गरेका छन् ।

डियाजले गत सिजन पनि लोनमा गएर सान सिएरोमा विताएका थिए । त्यसक्रममा मिलानका लागि २७ खेल खेल्दै उनले चार गोल गर्नुका साथै तीन गोलको अवसर सिर्जना गरेका थिए । स्टेफानो पियोलीको टोलीले डियाज खेलेका २७ मध्ये १७ खेल जितेको थियो । 

म्यानचेस्टर सिटीका पूर्व खेलाडी डियाज २०१९ मा रियाल सरुवा भएका थिए । गत सिजन मिलानको टोलीबाट उनले विपक्षी पोष्‍टमा कुल २६ पटक प्रहार गरेका थिए । जसमा उनलाई १५.३८ प्रतिसत सफलता प्राप्त भएको थियो । 

मालागाको युवा टोलीबाट प्रभावशाली प्रदर्शनका साथ विश्‍व फुटबल जगतको ध्यान तान्‍न सफल डियाज २०१५ मा सिटीसँग अनुबन्धित भएका थिए । प्राविधिक रुपमा बरदानप्राप्त मानिने डियाज निक्कै क्षमतावान फरवार्ड हुन् ।

जाडन सान्चो र फिल फोडेनजस्तै सिटीका उच्च प्रतिभावान खेलाडी भए पनि डियाजले पर्याप्त अवसरको खोजीमा सिटी छोडेका थिए । 

स्पेनिस राष्‍ट्रिय टिमबाट गत जुनमा उनले ‘डेब्यु’ गरेका थिए । उनले ‘डेब्यु’ गरेको खेलमा स्पेनले लिथुवानियामाथि ४-० को जित हासिल गरेको थियो । 

‘सान सिएरोमा फर्किन पाएकोमा म निक्कै खुसी छु । यहाँ पाएको साथ, सहयोग र मायाका लागि सबैलाई धन्यवाद,’ डियाजले ट्‍विरमा लेखेका छन् ।