बार्सिलोनामा मेसीकाे जर्सी फातीलाई

बार्सिलोना, (खेलाडी)- बार्सिलोनाको १० नम्बर जर्सी युवा खेलाडी अंशु फातीले लगाउने भएका छन् । 

बार्सिलोनाले आज सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै फातीले १० नम्बर लगाउने पुष्टी गरेको हो ।

यसअघि क्याटालनको महारथीबाट १० नम्बर लगाउने अर्जेन्टिनी स्टार लियोनल मेसी यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएपछि बार्सिलोनाबाट कसले यो जर्सी लगाउछ भन्ने चर्चा चुलिएको थियो ।
 
केही युरोपियन मिडियाले यो जर्सी यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना भित्रिएका अर्का अर्जेन्टिनी स्टार सर्जियो अग्विरोलाई लगाउन प्रस्ताव गरे पनि उनले अस्विकार गरेका थिए । 

२०१९ मा बार्सिलोनाबाट ‘डेब्यु’ गरेका फातीले च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान राखेका थिए । 

त्यस्तै ‘डेब्यु’को ६ दिनपछि गोेल गर्दै फाती बार्सिलोनाबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका थिए । १८ वर्षिय फातीले हालसम्म बार्सिलोनाबाट ३१ खेलमा ११ गोल गरेका छन् ।