वीर गोर्खालीको टोली जित्नका लागि मैदान उत्रिन्छ : अल्मुताइरी

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमा जितको लक्ष्यसहित मैदान उत्रिने बताएका छन् । 

माल्दिभ्समा असोजमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले त्यसैको लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । दुई देशबीच पहिलो मैत्रीपूर्ण खेल बिहीबार दशरथ रंगशालामा हुनेछ । दोस्रो खेल आइतबार हुनेछ । 

नेपाली राष्ट्रिय टोलीका कुवेती प्रशिक्षक अल्मुताइरीले वीर गोर्खालीहरु जितको लक्ष्य लिएरमात्र मैदान उत्रिने प्रष्ट पारे । 

‘हामी वीर गोर्खाली हौं । हाम्रो उद्देश्य जितमात्र हो । हामी योमात्र होइन हरेक खेल जित्न चाहन्छौं,’ बुधबार पत्रकार सम्मेलनमा अल्मुताइरीले भने ।

तथापि मैत्रीपूर्ण खेलमा भारतसँग पराजित भए पनि त्यसमा चिन्ता लिनु नपर्ने उनको भनाई थियो । ‘यो साफ च्याम्पियनसिप होइन । त्यसैले भारतसँग हारे पनि केही फरक पर्दैन । तर हामी जित्नका लागि मैदान उत्रिन्छौं,’ उनले थपे । 

मैत्रीपूर्ण खेलका लागि भारतीय टोली मंगलबार काठमाडौं आइपुगेको थियो । त्यसका लागि भारतले कोलकातामा प्रशिक्षण गर्दै आएको थियो । भारतीय राष्ट्रिय टोलीले २००६ यता कोलकातामा अभ्यास सिविर राखेको यो पहिलो पटक हो । २००६ मा विश्वकप छनोटका लागि भारतीय टोली कोलकातामा बन्द प्रशिक्षणमा थियो ।

भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेलका लागि नियमित कप्तान सुनील क्षेत्रीको कप्तानीमा शुक्रबार २५ सदस्यीय टिम घोषणा गरेका थिए ।