‘खेलकुद अस्थिरता र तदर्थवादमा चलेको छ’

नेपालगन्ज, (खेलाडी)- राष्ट्रिय खेलकुद परिषद(राखेप)का पूर्व सदस्य विनोद मैनालीले केपी ओली सरकारले जाँदाजाँदै गलत नियतले खेलकुद क्षेत्रमा विभिन्न नियुक्ती गरेको आरोप लगाएका छन् । 

गलत मनासयले रातारात गरेका नियुक्तिहरु स्वत खारेज हुुनु पर्ने मैनालीले पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा बताए । 

‘सरकार परिवर्तन भएपछि त्यतिबेला राजनीतिक नियुक्त लिएकाहरुले स्वत पदबाट राजीनामा दिनु पर्ने हो,’ मैनालीले भने, ‘हामी उहाँहरुलाई राजीनामा दिनु भन्दैनौं । तर नैतिकताको आधारमा राजीनामा दिनु पर्ने हो ।’

अघिल्लो सरकारको कार्यकालमा लुम्बिनी प्रदेशले संसद बैठक बस्न नसकेको अवस्थामा अवैधानिक बाटोबाट प्रदेश खेलकुद सदस्यसचिव लगायतका पदाधिकारी नियुक्त गरेको थियो । त्यसपछि प्रदेश खेलकुदले जिल्ला खेलकुद समिति गठन गर्दै आएको छ । 

‘नेतृत्वमा रहेका मानिसबाट आम खेलकर्मीले जुन ढंगको अपेक्षा गरेको थिए, त्यो पूरा हुन सकेन । कोभिडले प्रभावित भएका बेला राखेपले खेलाडी र खेलकुदका लागि थुप्रै काम गर्न सक्थ्यो,’ मैनालीले भने, ‘पूर्वाधार निर्माण तथा अध्ययन, अनुसन्धानका कामहरु धेरै गर्नु पर्ने थिए । तर केही भएनन् । खेलकुदको करिव आधा बजेट फ्रिज भएर गयो ।’

राखेपका सदस्य गोविन्द भंट्टराईले पनि राखेप नेतृत्व नहुँदा खेलकुदको विकासमा असर गरेको बताए । 

उनले भने, ‘दुई वर्ष भयो राखेपको बोर्ड बैठक नै बसेको छैन । खेलकुद अस्थिरता र तर्दथवादमा चलेको छ । खेलकुदमा आएको बजेट फ्रिज भएर गएको छ । त्यसको कुनै समिक्षा हुँदैन । यसमा नेतृत्वको मात्र गल्ति छैन । केही अंश हामी पनि भागीदार छौं । हामीले खेलकदमा काम गर्ने स्वर्णीम युग गुमायौं ।’